वर्षेनी चैते धान रोप्ने क्षेत्रफल घट्दै

३ हप्ता अगाडि

काठमाडौँ - कृषि ज्ञान केन्द्र गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार  जिल्लामा चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । 

यस वर्ष क्षेत्रफल घटेर ३१९ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने प्रक्षेपण कृषि ज्ञान केन्द्रले गरेको छ। जिल्लामा आर्थिक वर्ष ०७७\०७८ मा ३५२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। २०७८\०७९ मा ३५० हेक्टर क्षेत्रफल र २०७९\०८० मा ३४१ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको तथ्याङ्कमा उल्लेख छ। चैतको पहिलो साताबाट धान रोप्न सुरु गरेर चैतको अन्त्यसम्म धान रोप्ने गरिन्छ। चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ। चैते धान रोपेको ठाउँमा पुनः वर्षे धान रोप्ने गरिन्छ। जिल्लामा हालसम्म १७ प्रतिशत चैते धान रोपाइँ भएको कृषि ज्ञनकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । 

मानिसको बसाइसराइले उत्पादन गर्ने जनशक्ति नहुँदा खेती गर्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको बताइएको छ। पछिल्ला केही वर्ष यता हिउँदमा वर्षात पनि नभएकाले खेती गर्न समस्या हुँदै आएको पाइन्छ। सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ। हिउँदमा वर्षा नभएकाले चैते धानको खेती र उत्पादनमा कमी हुँदै गएको छ।चैते धानको रूपमा स्थानीय मार्सी, सिएच ४५ चैते, हर्दिनाथ १ रोपिन्छ। हाइब्रिड धान शङ्कर, उपज, च्याम्पियन, यूएस ३१२ रोपिन्छ। यस जिल्लामा विशेषगरी स्थानीय हंसराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लोई,  पाखे धान, रातो मार्सी धान, मार्सी खेती गरिन्छ। कम उत्पादन दिने भएता पनि उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने भन्दै किसानको रोजाइमा ती धान पर्छन्। कति पय धानको चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएकाले पनि किसान आफैँले यी बिउँलाई निरन्तरता दिइरहेको पाइएको छ। 

३ हप्ता अगाडि

प्रतिक्रिया