कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा चेम्बर अध्यक्ष मल्लको जोड

२ हप्ता अगाडि

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषि कर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गरेका छन् । 

मङ्गलवार काठमाडौँमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गरेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषि कर्जा प्रदान गर्नुपर्ने बताए । 

अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताए । उनले सरकारले युवाहरूलाई मुलुकभित्रै रोजगारी दिनेगरी  तत्काल रणनीतिक योजना बनाउन आग्रह गरे ।  उनले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवर्द्धनका लागि संसदमा विचाराधीन कानुनहरू यथाशीघ्र संशोधन गरी पारित गर्न माग गरे । उनले नेपालमा काठको आयातलाई बन्द गर्न माग गरे । 

अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो समय बैंकहरूमा लगानीयोग्य रकम थुप्रिदा पनि लगानी प्रति मानिसलाई आकर्षित गर्न नसकिएको प्रति चिन्ता व्यक्त गरे । उनले पछिल्लो समय लगानीप्रति आकर्षित गर्न नसक्दा नै मुलुकको अर्थतन्त्र समस्यामा परिरहेको बताए । ‘पछिल्लो समय नेपालमा लगानी आकर्षित हुन सकिरहेको छैन । बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ, तर लगानी हुन सकिरहेको छैन,’ उनले भने । अर्थतन्त्र चलायमान बनाउन सरकारले आफ्ना नीतिहरू लचिलो बनाउनुपर्ने धारणा व्यक्त गर्दै अध्यक्ष मल्लले लचिलो नीतिले अर्थतन्त्र चलायमान हुनाका साथै राजस्व सङ्कलनमा समेत सहयोग पुग्ने बताए । यस्तै, उनले अर्थतन्त्र चलायमान बनाउनका लागि पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड दिँदै भने, ‘अर्थतन्त्रमा महङ्गी वृद्धि भइरहेको छ । खाद्य सामग्री आयात गर्दा अरबौँ रकम बाहिरिएको छ । यसैले अबको बजेट सबैका लागि उत्तम ‘सर्वोत्तम’ आउनु पर्छ ।’

अहिले पनि आन्तरिक अर्थतन्त्र सङ्कुचित अवस्थामै रहेको भन्दै उनले भने, ‘मुलुकको आन्तरिक अर्थतन्त्र अझै माथि उठ्न सकेको छैन, व्यापार घाटा उच्च रहेको छ । निर्यात भन्दा आयात वृद्धि भएको छ । यसले अझ व्यापार घाटा वृद्धि गर्ने प्रष्ट देखिएको छ । आईटीमा विदेशी लगानी भित्र्याउनु अहिलेको आवश्यकता हो । प्राकृतिक स्रोतको सही सदुपयोग गर्नुपर्नेछ छ । अर्थतन्त्र चलायमान बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको छ ।’ सरकारको केही कसिलो नीतिले अर्थतन्त्रलाई थप सङ्कुचित बनाएको उनको भनाइ छ । ‘केही नीतिले अर्थतन्त्र चलायमान बनाउन रोक लगाएको छ । लचिलो नीतिले अर्थतन्त्र चलायमान हुनाका साथै राजस्व सङ्कलनमा समेत सहयोग हुन्छ । सो कारण नीति परिवर्तन आवश्यक रहेको छ,’ उनले भने, ‘मुलुकको अर्थतन्त्रका लागि चेम्बरको भूमिका खेलेको छ । निजी क्षेत्रमा चेम्बरको भूमिका महत्वपूर्ण रहेको छ । अर्थतन्त्रमा प्रष्ट धारणा सरकारसँग चेम्बरले राखेको छ । व्यवसायीको आर्थिक गतिविधि विकासका लागि चेम्बरले सम्मान गरेको छ ।’

अर्थतन्त्र चलायमान बनाउनका लागि चेम्बरले विभिन्न एक्स्पो आयोजना गरिरहेको अध्यक्ष मल्लको भनाइ छ । यस्तै, उनले गाजालाई सरकारले वैधानिकता दिनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया