काठमाडौं- सर्वहारा वर्गको मुक्तिको लागि लडेको भन्दै दशवर्षे जनयुद्धको गाथा गाउने माओवादी नेताहरु अहिले अवैध धन्दा सञ्चालन गरेर आफ्नै कार्यकर्ता रहेका श्रमिकमाथि ठगी गर्न थालेका छन् ।
भुइँमान्छेलाई राज्यसत्ताको पहुँचमा पुर्याउन सामन्तवादको विरुद्धमा लडेको स्वघोषित दाबी गर्नेहरु नै नवसामन्त बनेर आफ्नै कार्यकर्तामाथि लुट धन्दा चलाएको पाइएको छ ।
बागलुङको ताराखोला गाउँपालिका १ माझखर्कमा अनुमति बिना ढुंगाखानी सञ्चालन गरेर माओवादी नेताहरुले त्यहाँका स्थानीयहरुको उठीबास लगाउँदै आफ्ना कार्यकर्तालाई समेत ठगी गरेर बिचल्लीमा पारेका छन् ।
शान्तिप्रक्रियामा आए यता अनेकौं अवैध धन्दा सञ्चालन गरेका माओवादी नेता कार्यकर्ताहरु अहिले फेरि सत्ता र शक्तिको आडमा बागलुङमा ढुंगाखानी चलाएर स्थानीयको उठीबास र कार्यकर्तामाथि ठगी धन्दामा लिप्त रहेको पीडितहरु बताउँछन् ।
माओवादी नेताहरु सुरेश आले मगर, हितमान शाक्य, अमृता थापामगर लगायतका नेताहरुले चलाएको ढुंगाखानीमा कार्यकर्ताले लगानी गरेको शेयर फिर्ता नदिएर बिचल्ली पार्दै उल्टै ज्यान मार्ने धम्की दिन थालेका छन् ।
सनराईज डीआर मल्टिकन्स्ट्रक्सन प्रालिको नाममा सञ्चालित ढुंगा खानीमा आफ्नै कार्यकर्र्तालाई लगानी गर्न लगाएर त्यसबाट बाहिरिन खोज्दा शेयर रकम समेत नदिई ज्यान मार्ने धम्की दिने गरेका छन् ।
रोल्पाका माओवादी कार्यकर्ता रामलाल रोकालाई पनि राष्ट्रियसभाका सांसद रहेका माओवादी नेता आलेमगरले त्यही ताराखोलाको ढुंगाखानीमा सुरुमा कामदारको रुपमा काम गर्न लगाएका थिए । उक्त ढुंगाखानीमा पछि शेयर लगानी गरेका उनले कानूनी प्रक्रिया बिना अवैध रुपमा सञ्चालन गरिएको थाहा पाएपछि त्यसबाट बाहिरिएका थिए । तर शेयर बापतको दश लाखको लाभांशसहित रकम फिर्ता नपाएर उनी हारगुहार गर्दै हिँडेका छन्। शेयर बापतको रकम फिर्ता माग्दा दिइएको १२ लाखको चेक समेत बाउन्स भएको छ ।
यस्तै, तनहुँ आबुखैरेनीका माओवादी कार्यकर्ता विनोद अर्यालले पनि सुरुमा ढुंगाखानीमा काम गरेका थिए । सुरुमा त्यही काम गरेका उनलाई शेयर हाल्न समेत राष्ट्रियसभाका सांसद रहेका माओवादी नेता सुरेश आलेमगरले सुझाएका थिए । आफ्नै पार्टीको नेता र एउटै जिल्लावासी भएको नाताले विश्वस्त भएर त्यसमा लाखौं रकम लगानी गरेका उनले अहिले सो शेयरबापतको रकम फिर्ता नपाएको गुनासो गर्न माओवादी नेताहरुको घरदैलोमा पुगेका छन् ।
यसबारेमा माओवादी नेता एवं राष्ट्रियसभाका सांसद आलेमगरलाई सम्पर्क गर्दा उनले दुबैजना आफैं बाहिरिएको बताए । अर्यालले साझेदारीमा सञ्चालित ढुंगाखानीमा मनोमानी तवरले कारोबार गरेर बाहिरिएको सांसद आलेमगरले आरोप लगाए ।
‘उहाँहरु दुबै जना आफ्नै इच्छाले बाहिरिनुभएको हो । साझेदारीमा गरिएका सबै कारोबार मिलान गर्ने प्रक्रियामा छौं ।’, सांसद आलेमगरले आजको अर्थसँग भने, ‘रामलालसँगको कारोबार मिलिसकेको छ । विनोदले कम्पनीको कारोबार समेत भद्रगोल बनाएर बाहिरिएका हुन्।’
उनले स्थानीय सरकारसँग अनुमति लिएर ढुंगा खानी सञ्चालन गरिएको जिकिर गरे । धातुजन्य खनिज सामग्री नभएर खानीजन्य निर्माण सामग्री भएकाले ढुंगा उत्खनन कार्य गाउँपालिकाको अनुमति लिएर गरिएको उनले बताए ।
प्रतिक्रिया