काठमाडौं - आजकै दिन अर्थात २०३४ साल साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको निधन भएको थियो । नेपाली राजनीतिमा पुष्पलालको योगदान उच्च कोटीको रहेको छ ।भारतको कलकत्तामा पुष्पलालले आफ्ना तीन जना साथीहरुको समेत सहभागितामा पार्टी गठन गर्नुभएको थियो । नर बहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलाश जोशी संस्थापक रहनु भयो ।
पुष्पलाल त्यतिबेलासम्म नेपाली राष्ट्रिय कांग्रेसमा हुनुहुन्थ्यो । कांग्रेसबाट विद्रोह गरेर उहाँले कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । पुष्पलालले नै सबैभन्दा पहिले कम्युनिष्ट घोषणा पत्रलाई नेपालीमा अनुवाद गर्नुभएको हो । त्यसपछि नै उहाँले नेपालमा साम्राज्यवाद र सामन्तवाद विरोधी पार्टीको आवश्यकता देख्नुभयो । त्यस्तो पार्टी कम्युनिष्ट पार्टी नै हुनसक्ने ठानेर उहाँले पार्टी गठन गर्नुभयो । आज उहाँले स्थापना गरेको पार्टी देशको राष्ट्रिय शक्ति बनेको छ । अनेक चिरामा विभाजित भएर पनि नेपालमा कम्युनिष्टहरुप्रतिको लोकप्रियतामा कमी आएको छैन । पटक पटक सत्ताको नेतृत्वमा पनि कम्युनिष्ट पार्टी पुगीसकेको छ ।
पार्टी विभाजनको सुरुवात त पुष्पलालको जीवनकालमै भएको हो । तेस्रो महाधिवेशनबाट रोपिएको विभाजनको बीउ आजसम्म आइपुग्दा सबैतिर फैलिएको छ । दर्जनौं कम्युनिष्ट पार्टीहरु अहिले अस्तित्वमा छन् । मूलधारका पार्टीहरुमा बेलाबेलामा विचलनहरु देखिएका छन् । सशस्त्र संघर्षको अभ्यास पनि भैसकेको छ । पुष्पलालले देखेको सपना सामन्तवादको पूर्ण रुपमा अन्त्य गरी जनवादी क्रान्तिको माध्यमद्वारा समाजवाद हुँदै साम्यवादमा पुग्ने हो । उहाँले त्यतिबेला नयाँ जनवादी क्रान्तिको लागि कार्यदिशा बनाउनु भएको थियो । जतिबेला पुष्पलालमा क्रान्तिको हुटहुटी थियो त्यतिबेला दुई ठूला कम्युनिष्ट मुलुकहरु तत्कालीन सोभियतसंघ र चीनको बीच चरम विवाद बढेको थियो । त्यसको प्रत्यक्ष प्रभाव विश्व कम्युनिष्ट आन्दोलनमा परेको थियो । नेपालका नेताहरु पनि सोभियतसंघ र चीनको पक्षमा ध्रुविकृत हुन पुगे । नयाँ जनवाद कि राष्टिय प्रजातन्त्र भन्ने विवाद बढ्दै जाँदा तुल्सीलालले ‘कुन बाटो’ भन्ने पुस्तक लेख्नुभयो र त्यसको जवाफमा पुष्पलालले ‘मूल बाटो’ भन्ने पुस्तक लेख्नुभयो ।
यसपछि नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न समूहमा विभाजित भयो । पुष्पलाल पनि एउटा सानो समूहको नेता बन्नुभयो । पूर्व कोशी प्रान्तिय कमिटीमा रहेका नेताहरुले नेकपा(माले)गठन गरे । जसलाई को –अर्डिशेसन केन्द्रको नामले चिनिन्थ्यो । यही कोके कालान्तरमा नेकपा (एमाले) बन्यो । माले कालमै यसले झापामा वर्ग शत्रु सफाया आन्दोलन नामको सशस्त्र संघर्ष चलायो । जसको नेतृत्व सीपी मैनाली , आर के मैनाली, मोहनचन्द्र अधिकारी, केपी वली लगायतले गरेका थिए । पुष्पलालकै सहयोगी र प्रथम महाधिवेशनका महासचिव मनमोहन अधिकारी र सहाना प्रधानको नेतृत्वमा रहेको नेकपा (माक्र्सदी) को बीचमा २०४७ मा मदन भण्डारीको अग्रसरतामा पार्टी एकता भएपछि नेकपा (एमाले) बन्यो । जसले २०५१ सालको संसदीय निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएर पहिलो कम्युनिष्ट सरकार बनाउने अवसर पायो । मनमोहन अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री बने ।
२०५२ सालमा फेरि नेकपा (माओवादीं) ले संसदीय व्यवस्थाको विरुद्ध हतियार उठायो । जसलाई उसले दीर्घकालीन जनयुद्धको नाम दियो । जनयुद्धले राष्ट्रिय राजनीतिमा नै ठूलो उथलपुथल ल्याइदियो । १० वर्षसम्म चलेको यो सशस्त्र युद्धकै प्रभावले नेपालबाट राजतन्त्र पनि समाप्त भयो । संविधानसभाको निर्वाचन भयो । शासकीय स्वरुपमा परिवर्तन भयो । तर राजतन्त्र हटे पनि संसदीय व्यवस्था भने कायम छ । २०६३ सालमा माओवादी र सरकारकाबीच शान्ति संझौता भएपछि पहिलो निर्वाचनमा माओवादी नै संविधानसभामा सबैभन्दा ठूलो पार्टीको रुपमा उपस्थित भयो । चुनावी नतिजामा निकै कमजोर देखिए पनि संसदीय चातुर्यतामा माओवादी अगाडि देखिएको छ । फलस्वरुप उसले दुई ठूला पाटीृहरुलाई साइड लगाएर सरकारको नेतृत्व गरिसकेको छ ।
पार्टी स्थापनाको हीरक महोत्सव मनाइसक्दा पनि पुष्पलालसित राजनीतिक द्वन्द्व गरेका पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंह अहिले पनि एउटा सानो समूह ’मसाल’ को नेतृत्व गरिरहनुभएको छ । सिंहले पुष्पलालको आलोचना गर्दै ’गद्दार पुष्पलाल’ भन्ने पुस्तक नै लेख्नुभयो । पुष्पलाल बाँचुन्जेल सादगी र नैतिक जीवन बाँच्नुभयो । राजा महेन्द्रले २०१७ सालम ’कु’ गरेपछि त्यसको खरो बिरोधमा उत्रनुभयो पुष्पलाल । प्रजातन्त्रको पुनस्र्थापनाको लागि वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर संयुक्त आन्दोलन गर्नुपर्छ भन्ने विचार उहाँले अगाडि सार्नुभएको थियो । यसलाई उहाँकै पार्टीका कतिपय नेताहरुले कांग्रेसपरस्त भन्ने आरोप लगाए । २०४६ को जनआन्दोलनमा कांग्रेस कम्युनिष्ट मिलेर पञ्चायत विरुद्ध संयुक्त संघर्ष गरेपछि नै बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो । अनि मात्र पुष्पलालको संयुक्त आन्दोलनको नीति सही थियो भन्ने पुष्टि भयो । राजनीतिमा उहाँको दूरदर्शिता पनि स्थापित भयो । नेकपाका संस्थापक तथा वामपन्थी आन्दोलनका शिर्ष व्यक्तित्व पुष्पलालको विचार र नीतिप्रति इमान्दार भएर विवेचना गर्दै वामपन्थी शक्तिलाई एकतावद्ध गर्न सबैलाई प्रेरणा मिलोस् । यही नै यहाँप्रतिको सच्चा सम्मान हुनेछ ।
के होला अबको बाटो ?
वर्तमानमा नेपालका ठूला कम्युनिष्ट पार्टीहरुमा आन्तरिक द्वन्द्व र कलह बढ्दै गएको छ । मूल नेतृत्वमा निरङ्कुश शैलीको विकास भएको छ । पार्टीमा जनवाद नभएर हुकुमी शासन बढिरहेको दोस्रो तहका नेताहरु बताउने गर्दछन् । पार्टीकै नेतृत्वमा पटक पटक सरकारहरु बनेका छन् । जनताले ठूलो बहुमतकासाथ सत्तामा पठाएका छन् । तर नेताहरु पार्टीको मूल आदर्श र लक्ष्यबाट च्यूत भैसकेको देखिन्छ । जसको कारण देश र जनताको अवस्थामा अपेक्षाकृत परिवर्तनहरु देखिएका छैनन् । पछिल्लो समय जनतामा व्यापक निराशा र पलायन देखिएको छ । युवा जनशक्ति देशमा बस्न चाहँदैन । आधारभूत जनताबाट पार्टी धेरै टाढा पुगेको स्वयम नेताहरु नै बताउँछन् ।
वर्तमानको विषम परिस्थितिमा पुष्पलालको स्मृति दिवश मनाइएको छ । तीन साउन ६ गते राष्ट्रियसभा गृहमा केही आशालाग्दा नेताहरुले वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलनको बारेमा बहस चलाए । कार्यक्रममा सबैले आशापूर्ण नजरमा हेरिएका विप्लब, माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको भविष्यको सकेत गरेका छन् । उनीहरुका बिचारले यो अनुमान गर्न कठिन छैन कि निकट भविष्यमा नेपाली राजनीतिमा ठूलै तरङ्ग आउँदैछ । एमाले, कांग्रेस र माओवादीको मूल नेतृत्वबाट अब देश चल्न सक्तैन भन्ने निश्कर्षमा एउटा ठूलो जनमात पुगिसकेको बताइन्छ । उनीहरुले आ–आफ्ना पार्टीहरुलाई कम्पनिको रुपमा सञ्चालन गरिरहेको यो जमातको बुझाइ छ । त्यसैले उनीहरु विल्कुल नयाँ ध्रुविकरणको तयारीमा जुटेको देखिन्छ । त्यसको लागि सम्भावित पात्रहरुको चयन पनि भैसकेको सम्बद्ध स्रोतको दाबी छ ।
आफ्ना पार्टीहरुबाट पेलिएका र आफैमा क्षमता बोकेका नेताहरु यो ध्रुविकरणमा सहभागी हुने दाबी गरिएको छ । त्यसको सुरुवात सभागृहमा मञ्च शेयर गरेका यिनै नेताहरु र डां बाबुराम भट्टराई, सिके राउत लगायत हुन सक्ने बताइन्छ । यो ध्रुविकरणको आर्किटेक्ट माओवादी केन्द्रका वैचारिक नेता राम कार्कीलाई मानिएको छ । यो योजना आक्रामक रुपमा बघि बढ्ने सम्बद्ध स्रोतले दाबी गरेको छ । यसो भयो भने जनतामा फैलिएको निराशा केही कम हुने र विद्यमान राजनीतिक शक्ति सन्तुलन नै फेरिने विश्वास गरिएको छ ।
पटक पटक परिक्षण भैसकेका नेताहरुबाट आम जनतार्मा पनि कुनै आशा र भरोशा देखिदैन । ऐतिहासिक जनआन्दोलन र जन क्रान्तिहरुका प्राप्त परिवर्तनलाई संस्थागत गरी मुलुकलाई नयाँ दिशा र गति दिन पनि विद्यमान राजनीतिक सन्तुलन भत्काउन अत्यावश्यक भैसकेको छ । सम्भावित नयाँ ध्रुविकरणले आम जनतामा आशाको नयाँ रक्तसञ्चार गर्ने वौद्धिक विश्लेषण पनि हुन थालेको छ । संस्थापक नेता पुष्पलालको योगदानलाई सम्मान गर्ने भनेको पनि देश र जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउनु नै हो ।
प्रतिक्रिया