काठमाडौं -अमेरिकाको टेक्ससमा तीन जना नेपालीको गोली काण्डमा मृत्यु भएको दुखद समाचारले सबैलाई स्तब्ध बनाएको छ । टेक्सस राज्यको डालास सहरमा हत्यापछि आत्महत्या गोली काण्डमा एकै परिवारका तीन जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई शनिबार गोली हानी हत्या गरेका थिए । ललितले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उक्त घटनाले मुलुकको समग्र अर्थराजनीतिक अवस्था र हाम्रो राज्यको दुरावस्थाको चित्र प्रस्तुत गरेको छ । नेपाली युवाहरु मुलुकमा स्वाभिमानका बाँच्ने अवसर नपाएरै पराई भूमिमा जान बाध्य पारिएका छन् । ललित एउटा प्रतिनिधि पात्र मात्र हुन उनी जस्ता थुप्रै नेपाली युवाहरु घरखेत बेचेर विदेश जाने र त्यहाँ पनि सोचे जस्तो काम नपाएर डिप्रेशनमा जाने गरेका छन् । जसको कारण ललितको जस्तो दर्दनाक घटना हुने गरेको देखिन्छ । भन्न त नेताहरु भाषणमा नेपाल प्राकृतिक स्रोत–साधनमा सम्पन्न मुलुक हो भन्ने गर्दछन् । यहाँको उर्वर भूमि, प्रशस्त जलस्रोत, जैविक विविधता, खानीजन्य सम्पदा र पर्यटनको अपार सम्भावना छ ।
यी सबै स्रोतको विवेकपूर्ण उपयोगले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ भन्नेमा कुनै शंका छैन । तर बिडम्बना के छ भने एकातिर साधनस्रोतको उपयोग व्यवस्थित र ठीकढंगले हुन सकिरहेको छैन भने अर्कोतिर मुलुकको विकासको मेरुदण्ड मानिने श्रमशक्ति नै तीब्र गतिमा विदेश पलायन भइरहेको छ । मुलुकमा उपलब्ध साधन स्रोतको उपयोग र परिचालन गर्ने सरकारको नीति पनि परिणाममुखी हुनपर्यो । त्यसले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्यो । जति जोगी आए पनि कानै चिरेका भने झैं जति सरकार बने पनि जनताको जीवनमा उल्लेख्य परिवर्तन आउन सकेको छैन । बरु नेताहरु मोटाउँदै गएका छन् । देशमा गणतन्त्र र लोकतन्त्र हैन नेतातन्त्रको रजगज छ । जनताको जीवनस्तर दिन प्रतिदिन खस्किदै गएको छ ।
वैदेशिक रोजगार आफैमा खराब हैन । एक्काइसौं शताब्दीमा वैदेशिक रोजगार नेपालको मात्र नभएर अन्य मुलुकको पनि आर्थिक संस्कृतिजस्तो बनिसकेको छ । केही वर्ष अगाडिसम्म नेपाली युवाहरुको मुख्य श्रम बजार भारत थियो । तर आज युरोप, अमेरिका, खाडी र अफ्रिकाका मरुभूमिहरु समेत नेपाली युवाका श्रम बजारमा परिणत भएका छन् । आज साक्षर, अर्धशिक्षित र शिक्षित सबैको सपनाको गन्तव्य विदेश नै हुने गरेको छ । विभिन्न अनुसन्धानमूलक लेख र पत्रपत्रिकाहरुमा आउने तथ्यका आधारमा नेपालका करिव ८० लाख नेपालीहरु विदेशमा रहेको देखिन्छ । दुई करोड ९१ लाख जनसंख्या भएको मुलुकमा यो तथ्यांक सामान्य होइन ।
पछिल्लो समयमा लाखौं नेपाली युवा विदेशिने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कोरिया, जापानजस्ता मुलुकमा गइरहेका छन् । यसरी विदेशिनेमध्ये अधिकांश २० देखि ४० वर्ष उमेरका, अर्थात् ऊर्जा, नवप्रवर्तन र उत्पादनको मुख्य उमेर समूहका नागरिक पर्छन् । अहिले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स नेपालको अर्थतन्त्रको मुख्य आधार बनेको छ । विदेशी मुद्रा सञ्चितीमा यही श्रमशक्तिको भूमिका महत्वपूर्ण छ । घर–घडेरी, स्वास्थ्य, शिक्षा र उपभोग्य वस्तुमा लगानी बढेको छ । कतिपय परिवारको जीवनस्तर यसकै कारण सुध्रिएको छ । तर यो पैसाले दीर्घकालीनरुपमा उपलब्धिमूलक योगदान दिन सकेको छैन । कृषिमा आधुनिकीकरण, उद्योग विस्तार, पूर्वाधार विकास, रोजगारी सिर्जना र सीप प्रवद्र्धनमा पर्याप्त मात्रामा लगानी हुन सकेको छैन । बरु, भोगविलास र उपभोगमुखी खर्चमा बढी गइरहेको तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।
युवाहरुको विदेश पलाएनले समाजमा विभिन्न असरहरु देखिएका छन् । स्वभाविक रुपमा उत्पादनशील श्रमशक्ति बाहिरिएपछि मुलुकमा कामदारको अभाव देखिन थालेको छ । कतिपय ग्रामीण क्षेत्रमा कृषि श्रमिकको कमीका कारण जमीन बाँझै छ । कतिपय क्षेत्रहरुमा भारतीय कामदार आयात गर्नुपरेको छ । यसले उत्पादन लागत बढाएको छ र स्थानीय उत्पादन घटाएको छ । गाउँहरू वृद्ध, महिला र बालबालिकामात्रको बस्तीमा परिणत हुँदैछन् । युवाविहीन गाउँहरू आर्थिक दृष्टिले मात्र होइन, सामाजिक र सांस्कृतिक दृष्टिले पनि कमजोर बन्दै गएका छन् । जनशक्ति पलायनका कारणहरूमा बेरोजगारी, अवसरको अभाव, राजनीतिक अस्थिरता, नीति–अवरोध, सुशासनको कमी, र विदेशमा तुलनात्मकरूपमा उच्च आम्दानीको सम्भावना प्रमुख छन् ।
यहाँको शिक्षा प्रणालीले आन्तरिक बजारसँग मेल खाने सीपयुक्त जनशक्ति उत्पादन गर्न सकेको छैन । धेरै युवाले प्राविधिक वा उद्यमशीलताको तालिम पाउँदैनन्, जसका कारण उनीहरू वैदेशिक रोजगारीमा श्रमप्रधान र कम तलबका काममा सीमित रहन्छन् । विदेशमा कमाएको सीप फर्किएपछि नेपालमा प्रयोग गर्न सक्ने उद्योग वा अवसरको अभाव पनि पलायनको चक्र तोड्न नसक्ने अर्को कारण हो ।
देश छोडेर गएका युवाहरु फर्केर आउने क्र भने बढेको छैन । त्यसैले यो अवस्था मुलुकको समग्र विकास र समृद्धिका दृष्टिले दीर्घकालीन रूपमा राम्रो संकेत होइन । प्राकृतिक स्रोत सम्पन्न भए पनि श्रमशक्तिविहीन मुलुक आर्थिक, सामाजिक र राजनीतिकरूपमा कमजोर रहन्छ । प्राकृतिक स्रोतको परिचालन र उपयोग गर्न मानव स्रोत अनिवार्य आवश्यकता हो । रेमिट्यान्समाथिको अत्यधिक निर्भरता आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अवरोध बन्न सक्छ । रेमिट्यान्सले उपभोग त बढाउँछ, तर उत्पादन र नवप्रवर्तनका लागि श्रम र पूँजी भित्राउन सक्दैन भने यो आर्थिक समृद्धिको स्थायी आधार बन्न सक्दैन ।
यस अवस्थाबाट बाहिर निस्कन रोजगारी सिर्जनामा क्रान्तिकारी कदम चाल्न आवश्यक छ । कृषि–आधारित उद्योग, जलविद्युत, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा सरकारी तथा निजी लगानी बढाउनुपर्छ । ग्रामीण भेगमा पूर्वाधार, सीप तालिम र बजार पहुँच उपलब्ध गराएर युवालाई गाउँमै उद्यमशीलतामा जोड्नुपर्छ । सहुलियत ऋण, प्राविधिक सहायता र लगानी प्रोत्साहनमार्फत् युवालाई स्वदेशमै व्यवसाय शुरु गर्न प्रेरित गर्नुपर्छ ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका सीपयुक्त युवाहरूलाई आकर्षक अवसर र प्रोत्साहन दिनुपर्छ, ता कि उनीहरूको अनुभव र दक्षता स्वदेशकै विकासमा प्रयोग होस् । देशको शक्ति प्राकृतिक सम्पदा मात्र होइन, जनशक्ति पनि हो । यही शक्ति विदेश पलायन भइरहेसम्म मुलुकको मेरुदण्ड कमजोर बन्दै जान्छ । रेमिट्यान्स अहिलेको आर्थिक आवश्यकताको स्रोत हो, तर स्थायी समाधान होइन । वास्तविक विकासका लागि श्रमशक्ति यही भूमिमा, यही उत्पादनमा र यही सपनामा लगाउनुपर्छ ।
आजका विकसित देशहरु पनि सक्षम र योग्य जनशक्तिको श्रमबाट नै अघि बढेका हुन । यद्यपी ती देशहरुले प्रविधीको क्षेत्रमा ठ्रूलो उपलब्धी हारिल गरेका छन् । प्रविधिको पनि प्रयोग भएको छ । तर मानव साधन स्रोतको पनि ती मुलुकहरुले यथेष्ट प्रयोग गरेका छन् । नेपाल जस्ता कमजोर मुलुकहरुबाट छानी छानी जनशक्ति लगिरहेका छन् । त्यसैले जनशक्ति पलाएन रोक्न सरकारले दीर्घकालीन र व्यवहारिक नीति, कार्यक्रम तथा योजनाहरु ल्याउन ढिला गर्नु हुँदैन । देश विकासको यो मात्र उपुक्त विकल्प हो ।
प्रतिक्रिया