प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर उनले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा सार्वजनिक गरेको श्वेतपत्रमा राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएको आरोप लगाउँदै दुःख व्यक्त गरे । “यसमा अनावश्यकरुपमा मेरो नाम जोडेर राजनीतिक पूर्वाग्रह साधिएको छ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले भने, “मेरो कार्यकालमा नेपाल ट्रष्टको जग्गा भाडामा दिनेसम्बन्धी कुनै निर्णय भएको छैन, यसप्रति मेरो आपत्ति छ ।”
नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोरखेलले केही दिनअघि श्वेतपत्र सार्वजनिक गर्दै यति होल्डिङ्सलाई दिइएको भनिएको जग्गासम्बन्धी निर्णयमा तत्कालीन प्रधानमन्त्रीका हैसियतले देउवा जोडिएको उल्लेख छ । नेपाल ट्रष्ट, गोकर्ण रिसोर्ट, नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ठूलो अनियमिता भएको आरोप लगाउँदै उनले यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्ने बताए ।
सभापति देउवाले सुरक्षण मुद्रण खरिद प्रक्रियामा ठूलो अनियमिताको आरोप लगाउँदै उनले तत्कालीन सञ्चारमन्त्रीको ‘अडियो टेप’का विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। विश्वका ५० भन्दाबढी मुलुकमा कोरानो भाइरस फैलिएको र विश्वस्वास्थ्य सङ्गठनले नेपाल उच्च जोखिमा रहेका जनाइसकेको अवस्थामा उच्च सतर्कता अपनाउन र तयारीको अवस्थाका बारेमा सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गरे ।
समाजवादी पार्टीकी सरिता गिरीले सरकारले पेट्रोलियम पदार्थमा कर बढाएर मूल्यवृद्धि गर्न खोजको बताए । यस विषयमा सर्वपक्षीय छलफल
पूर्वाधार करले अप्रत्यक्षरुपमा मूल्यवृद्धि हुने जिकिर गर्दै उनले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसक्ने भएकाले सरकारले इन्धनमा थप कर लगाएको आरोप लगाए । “पूर्वाधार कर सरकारले फिर्ता लिनुपर्छ”, उनले भने, “दोहोरो करको मारमा जनतालाई पार्नुहुँदैन ।” यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर रु १० पूर्वाधार कर लिने निर्णय गरेको थियो ।
प्रतिक्रिया