अहिले -यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन : डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणको लागि नेपालमा गरिएको आरडीटी टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो |

यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउंदैन | यसले जांच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबोडी मात्र देखाउने हो |

रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जाँच गरेका छौँ भन्नको लागि मात्र हो |

संक्रमण भएको ७/८ दिनदेखि महिनासम्म यसमा एन्टीबोडी देखिन सक्छ | रोग सुरु भएको वा तत्कालै रोग सरेको यो टेस्टबाट थाहा हुँदैन | 

एक त यो टेस्टका किट गुणस्तरहीन छन् । ३० – ४० प्रतिशत भन्दा धेरै गलत रिपोर्ट आउँछ |

त्यसमा पनि संक्रमण सुरु भएको अवस्थामा यो जाँचको कुनै अर्थ छैन | उदाहरणको लागि उदयपुर लगायत ठाउँका दर्जन व्यक्तिहरुमा आरडीटी टेस्टले नेगेटिभ रिजल्ट दिएको थियो |

यदि उनीहरुलाई पीसीआर टेस्ट नगरेको भए उनीहरुले सयौं / हजारौं जनालाई यो रोग फैलाउन सक्दथे |

सरकारले धेरै जिल्लामा दशौ हजारलाई यो परिक्षण गरिरहेको छ | रिपोर्ट नेगेटिभ आइरहेको छ | यदि आरडीटी टेस्ट पोजिटिभ आयो भने उसलाई पीसीआर टेस्ट गरिएको छ | यो राम्रो पक्ष हो |

यसबाट कमसेकम पोजिटिभ देखिएको व्यक्ति सतर्क रहन्छ, पीसीआर टेस्टको अवसर पाउँछ | तर आरडीटीमा नेगेटिभ देखियो भने उ ढुक्क भएर सबैसंग भेटघाट गर्छ र धेरै जनालाई रोग सार्न सक्छ | यो निकै संबेदनशील बिषय हो |

पीसीआर टेस्टमा सिधै भाइरसको जिन देखिने भएकोले यो बिधि विश्वासिलो छ | यसमा संक्रमण भएको सुरुको अवस्थादेखि रोग निको भएको केहि दिनपछिसम्म पोजिटिभ देखाउंछ |

नयाँ रोग फैलिएको बेलामा पीसीआर टेस्ट नै गर्नुपर्छ | घांटी वा नाकको स्वाब संकलन, त्यसको सुरक्षण, परिवहन र परिक्षण राम्रोसंग गर्यो भने पीसीआर टेस्टबाट ७० प्रतिशत सहि रिपोर्ट आउँछ |

नेगेटिभ देखिएका व्यक्तिलाई दोहोर्याएर पीसीआर टेस्ट गर्ने हो भने ९० प्रतिशत रिपोर्ट आउँछ | पीसीआर मा पोजिटिभ देखिएपछि त्यो पोजिटिभ नै हुन्छ, नेगेटिभ देखिएमा मात्र परिक्षण दोहोर्याउन पर्ने हो |

अहिले नेपालले जतिसक्यो पीसीआर मेसिन किन्नुपर्छ | आरडीटी किटमा पैसा खेर फाल्नु जरुरी छैन | युरोप, अमेरिकाजस्ता देशले त कोरोना संक्रमण थेग्न सकेका छैनन् भने नेपालजस्तो स्रोतसाधन, जनशक्ति, आइसीयु, भेन्टिलेटर आदि न्यून भएको देशले संक्रमण थेग्न सक्दैन |

तसर्थ भएका आरडीटी किटलाई स्टोरमा राखौं | अर्को बर्ष संक्रमण निर्मुल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्छ | जति सक्यो पीसीआर मेसिन किनौं, पीसीआर टेस्टको दायरालाई ब्यापक बनाऔं |

सरकारले मात्र नसके सयौं निजि अस्पताल छन्, तिनीहरुलाई पीसीआर टेस्ट गर्न सहजीकरण गरौँ | कोरोना संक्रमण जित्न पीसीआर परिक्षणको दायरा बढाएर संक्रमित समुहलाई आइसोलेसनमा राखेर उपचार गर्ने तथा स्वस्थ्य व्यक्तिलाई संक्रमितबाट सुरक्षित राख्नुको बिकल्प हामीसंग छैन |

३ बर्ष अगाडि

प्रतिक्रिया