दाङको तुलसीपुर उपमहानगरपालि–१९ विजौरी धेरै वर्षसम्म बाँझो जग्गा केही वर्षदेखि हरियाली बनेको छ । विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय बनेको छ ।
घोराहीमा वार्षिक रु तीन हजार कट्ठा र तुलसीपुरमा रु दुई हजार ५०० मा जग्गा भाडामा लिएर रुकुमका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गरेका हुन् ।
उनीहरुले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गरेका उनिहरुले वार्षिक रु १५/२० लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन् ।
कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगानी उठाउन सहज रहेको छ । उनिहरुका अनुसार शुरुमा आफूहरुले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करीब एक करोड लगानी भइसकेको छ । अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । जुन कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताए ।
कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उनिहरुको भनाइ रहेको छ । उनिहरुले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएका छन् । एउटा बिरुवाको फुटकरमा रु २५० मा बिक्री गर्ने गरिएको छ ।
प्रतिक्रिया