भैंसीपालनले दियो खुशी

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

होण्डा बाइकको भटटट।।।। आवाज । त्यसमाथिको अधबैंसे पुरुष ।  पछाडि ठूलो झोला । त्यसभित्र ग्यालेन र जम्बो कोकका बोतल । ती सबै दूधले टनाटन भरिएका । बजारका डेरी र चिया पसल अगाडि बाइक रोक्दै बोतल र ग्यालेन रित्याउँदै अघि बढ्दै गरेको दृश्य जुम्ला खलंगावासीले निरन्तर देखिरहेका छन् । यो दृश्यका बाइक चालक हुन् गोठीचौर गाउँपालिकाका भैंसी पालक कृषक विष्णु धिताल ।

झोलामा पाँच–सात माना दूध बेच्न लुखुरलुखुर हिँड्दै खलंगा बजार आउने विष्णु बाइक चढेर दूध बिक्री गर्ने भएका छन् । उनको कथा जो कोहीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । उनको मेहनत र लगनशीलताले पाएको सफलताले धेरैका मन तान्न सक्छ । 

आजभन्दा २१ वर्ष अगाडि विष्णु एक सामान्य जीवन निर्वाह गरिरहेका किसान र मजदूर थिए । उनको मजदूरी र खेतीपाती निर्वाहमुखी थियो । थप आम्दानीको स्रोत थिएन । बचत सुक्को नहुने भएर मन खिन्न थियो । सम्भावना खोजिरहेका थिए तर, लगानीको जोहो भैसकेको थिएन । बैंक तथा वित्तीय संस्थाले सितिमिति नपत्याउने । अहिलेको जस्तो गाउँगाउँमा बैंक पुगिसकेका पनि थिएनन् । बजारका बैंकमा सजिलै पहुँच नपुग्ने । त्यसैले रकम जुट्न सकिरहेको थिएन । 

सोच भैंसी पाल्ने थियो तर, जुम्लामा व्यावसायिक रुपमा सम्भव छैन भन्ने मानिसहरुको सङ्ख्या कम थिएन । हुन पनि गोरस ९दूध० गुजारामुखी मात्र भैरहेको सबैले देख्दै आएको हो । उनी भने मौका कुरेर बसेका थिए । एकदिन गोठीचौर गाउँपालिकामा गरिबी निवारण कोषका कर्मचारी समूह बनाउन आए । उनी समूहमा सदस्य बने । पछि उनलाई कोषले लगानी गर्ने भयो । बैंकले नपत्याउने विष्णु जस्ता सामान्य किसानहरुले सहुलियत ब्याजदरमा ऋण पाए । कतिपय ठाउँमा गरिबी निवारण कोषको रकम दुरुपयोग भयो । विष्णुले यसलाई सुनौलो अवसरमा परिणत गरे । 

जीवनमा ठूलो रकम कसैले पत्यायो । त्यसबेला उनका आँखाबाट हर्षका आँसु झरे । उनले ढिलो नगरी भैंसी किन्ने योजना बनाए । त्यसमा केही रकम थपथाप गरी एउटा भैंसी किने । अब उनको यात्रा निर्वाहमुखीबाट व्यावसायिकतातिर उन्मुख भयो । गोठीचौर गाउँपालिकास्थित धिता गाउँको आफ्नै घरमा व्यावसायिक भैंसीपालनको यात्रा शुरु भयो । यो यात्राले नै हो उनलाई झोला भिर्ने बनाएको । 

गाउँको दूधले बजार पाउन थालेपछि विष्णु र उनको परिवार खुशी भए । मेहनत बढिरहेको थियो । थोरैथोरै बचत पनि भैरहेको थियो । एकाएक मालामाल हुने कुरा भएन । उनको व्यवसाय अहिलेको राजनीति र सरकारी सेवा जस्तो पनि थिएन । तर मेहनतले बिस्तारै फल दिन थालेको थियो । उत्साह बढिरहेको थियो । जाँगर चलिरहेको थियो । 

दशैंमा आशिर्वाद दिनेहरु ’एका एक्काइस भसय’ ९एकबाट बढेर एक्काइस०’ भन्छन् । यो उक्ति विशेषगरी छोरोछोरी धेरै हुनुपर्छ भन्ने पुरानो मान्यतामा आधारित भए पनि विष्णुको भैंसीपालनमा यो अनिवार्य थियो । उनले मेहनत गरेर आशिर्वादमा सन्तान बढाउने उक्ति झैं एकबाट एक्काइस भैंसी बनाउने थियो । उनको २१ भैंसी नपुगे पनि १४ वटा पुगिसकेको छ ।

हाल विष्णुको फार्म जिल्लाकै उत्कृष्ट व्यावसायिक फार्मका रुपमा स्थापित भैसकेको छ । आत्मविश्वास, लगनशीलता र मेहनतले अघि बढ्न सकियो भने सानो सहयोगबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण उनले पस्किरहेका छन् । “परिवारको खर्च धान्नकै लागि थुप्रै दुःख कष्ट सहें, ती कामले मलाई खासै आम्दानी दिएनन्,” विष्णु भन्छन् – “अनि अरुको भन्दा नयाँ काम गर्ने सोच बनाएँ । त्यो कसरी गर्ने भन्ने सोचिरहेको थिएँ । समयले सब सिकायो ।” उनलाई व्यावसायिक रुपमा कृषि फार्म सञ्चालनको जोश जाग्यो । समूहबाट केही ऋण निकाल्ने आँट आयो । त्यसैले नै हो एकको एक्काइस बनाएको । एउटा भैंसींबाट शुरु गरेको फार्ममा अहिले साना ठूला गरी १४ वटा भैसी छन् । 

कामसँगै अनुभूति सङ्गालिने रहेछ । सुरक्षा र जोखिम व्यवस्थापनको चिन्ता बढ्दो रहेछ । उपाय खोजिने रहेछ । खोज्दा खोज्दा भेटियो जोखिम हस्तान्तरण गर्ने उपाय । उनले सबै भैंसीको बीमा गरी सुरक्षित हुने बाटो अपनाएका छन् । उनी भन्छन् – “ढुक्क छु ।”

त्यसै भनिएको रहेन छ समय बलवान् छ भनेर । समयसँगै हिँड्यो भने सबै कुरा सिकिने रहेछ । समयले अनुकूल हुन सिकाउँदो रहेछ । शुरुमा झोलामा राखेर एक घण्टा पैदल हिँडेर दूध बेच्न बजार पुग्ने विष्णु अहिले बाइक चढेर सररर १५ मिनेटमा बजार पुग्छन् । यसले व्यवसाय विस्तार गर्न टेवा पु¥याएको उनले अनुभूत गरेका छन् । 

“दश वटा भैंसीबाट दैनिक ४० लिटर दूध प्रतिलिटर ७० का दरले बिक्री गर्छु,” उनी सुनाउँछन् – “शुरुमा त धेरै आम्दानी लिन सकिएन तर, मेहनत गर्न छोडिएन पनि ।” 

व्यवसाय शुरु गर्दाका प्रारम्भका दिन सम्झँदा विष्णु भावविभोर हुन्छन् । ती दिन सम्झँदै उनी भन्छन् – “विस्तारै परिवारका सदस्यहरुले साथ  दिए । आम्दानी बढ्दै गयो ।” उनको मुहार उज्यालो हुन्छ । मुसुक्क मुस्कुराउँछन् । 

केही भैंसीको लागि उनले एक लाखसम्म पनि लगानी गरेको छ । उनलाई लगानी गर्नु पर्दा कुनै पछुतो छैन । जति बढी लगानी उति बढी आम्दानी भन्ने मनमा परेको छ । जति बढी जोखिम उति बढी नाफा ।  

उनको भैंसीपालन व्यवसायमा सम्भावना मात्र होइन चुनौती पनि उत्तिकै छन् । हुन त सम्भावना र चुनौती एक सिक्काका दुई पाटा जस्तै हुन् । उनको व्यवसायको ठूलो चुनौती घाँस हो । वर्षामा जुम्लामा घाँसका लागि कुनै समस्या हुँदैन तर, हिउँदमा सुख्खा हुने हुनाले हरियो घाँस पाइँदैन । यसको असर दूधको मात्रामा पर्न जान्छ । तुलनात्मक रुपमा हिउँदमा दूध उत्पादन घट्छ । तर, आँट गरिसकेपछि पछि हट्ने कुरा आउँदैन । वर्षामा सुकाएर राखेको सुको घाँस र दाना प्रयोग गरी  व्यवस्थापन चुस्त बनाउने काममा उनी सफल भएका छन् । 

हाल उनी सहित सात जनाको परिवार छ । उनको परिवारको प्रमुख आम्दानी भनेकै अहिले त्यही भैंसीपालन व्यवसाय हो । भैंसीलाई दैनिक दानापानी, उपचार खर्च, गोठ सुधार लगायत अन्य घरायसी खर्च कटाएर पनि उनले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् । यो कमाई हाल विदेशिने औसत मान्छेको भन्दा राम्रो हो ।

सामान्य कृषकबाट व्यावसायिक फार्म सञ्चालक बनेका सफल किसान विष्णुलाई यतिबेला विभिन्न सङ्घ संस्था तथा भेटेनरीले पनि सहयोग गरेका छन् । आफ्नो मेहनत र सबैको सहयोगबाट अहिले ३० लाखभन्दा बढी लगानीमा व्यवस्थित फार्म बनेको छ । उत्कृष्ट भैंसीपालक कृषकका रुपमा हेटौंडा लगायतका स्थानका फार्म अवलोकनको अवसर पाएका उनलाई अहिले जिल्ला पशु सेवा कार्यालय जुम्लाले गोठ सुधारका लागि अनुदान र अन्य प्राविधिक सहयोग उपलब्ध गराएको छ । स्थानीयस्तरमै प्राविधिक सहयोग पाए पनि उन्नत जातका भैंसी र तिनलाई आवश्यक घाँस पर्याप्त रुपमा उपलब्ध नहुँदा भने उनलाई व्यवसाय सञ्चालनमा केही कठिनाइ हुने गरेको छ ।

उनी भन्छन् – “विदेश गएर किन दुख गर्नेरु जुनसुकै व्यवसाय अपनाए पनि जुम्लामा राम्रो पैसा कमाउने वातावरण देख्छु । जुम्लामा नहुने केही छैन । स्याउ, तरकारी, दूध, जडीबुटी सब छ ।” 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.००११४.६०
European Euro१२५.६६१२६.३२
UK Pound Sterling१४९.१८१४९.९७
Swiss Franc११७.५६११८.१८
Australian Dollar७७.२१७७.६२
Canadian Dollar८६.४७८६.९३
Singapore Dollar८४.०४८४.४८