काठमाडौं- नेपाल बीमा प्राधिकरणको आयोजनामा विरगञ्जमा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बीमा कम्पनीहरू बीमालेख बेच्न जोड दिने र त्यसपछि वास्ता नगर्ने प्रवृत्ति छाडेर बजारको अध्ययन अनुसन्धान गरी उपयुक्त बीमालेख ल्याउनेतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
मुख्यमन्त्री सिंहले बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) वापत खर्च गर्ने रकम प्रदेश सरकारलाई जानकारी गराएर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गर्दै त्यसो भएमा सीएसआर वापतको रकममा प्रदेश सरकार र अन्य क्षेत्रबाट समेत रकम थप गरी ठूलै कार्य गर्न सकिने बताए ।
उनले बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानीका समयमा कागजातहरू मिलेन भनेर झन्झट दिने गरेको गुनासोहरू आउने गरेको उल्लेख गर्दै दाबी भुक्तानीलाई सरल एवं सहज बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व वापतको रकम प्रादेशिक सन्तुलनका आधारमा खर्च गर्ने व्यवस्था गर्नका लागि यस सम्बन्धी निर्देशन परिमार्जन गर्न लागिएको जानकारी दिए । अध्यक्ष ओझाले वन्यजन्तु बीमालेखका सम्बन्धमा आवश्यक तथ्यांक संकलन गरेर प्रदेश सरकारसँग समेत समन्वय गरी आवश्यक निर्णय लिइने पनि बताए ।
अध्यक्ष ओझाले प्राधिकरणबाट बीमा सम्बन्धी कार्यमा समन्वय गर्न र जानकारीहरू आदान–प्रदान गर्नका लागि प्रदेश सरकारको कुनै संरचना अन्तर्गत बीमा इकाई स्थापन गर्न आग्रह गरे ।
प्रतिक्रिया