भारत–पाकिस्तान युद्धको बाछिटा

बुधबार, २४ बैशाख २०८२, ११ : १५

काठमाडौँ -भारत र पाकिस्तान परम्परागत प्रतिद्वन्दी छिमेकी हुन । उनीहरुको शत्रुतापूर्ण व्यवहारले सार्क मुलुकहरुमा त प्रभाव पर्ने नै भयो । साथै दक्षिण एसिया नै तरंगित हुने अवस्था रहेको छ । पाकिस्तानले केही दिन पहिले काश्मिरको पहलगामा आक्रमण गरेको थियो । उक्त आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

सञ्चारमाध्यमहरुले जनाए अनुसार ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो । बुधबार बिहान करिब पौने २ बजेतिर पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको हो ।

पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ ।पाकिस्तानमाथिको उक्त आक्रमणमा भारतले २४ वटा मिसाइल प्रहार गरेको छ । एएनआईका अनुसार उक्त अप्रेशन सिन्दूरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले मनिटरिङ गरेका थिए ।


यी दुई छिमेकी मुलुकको युद्धले भविष्यमा दक्षिण एसिया नै अशान्त बन्ने संभावना देखिएको छ । क्षेत्रीय शक्ति सन्तुलनमा समेत यसको गम्भीर प्रभाव पर्ने आँकलन गरिएको छ । भारतले गरेको आक्रमणलाई चीनले खेदजनक भनेर बिरोध गरेको छ भने अमेरिकाले पनि दुःख व्यक्त गरेको छ । भारत–पाकिस्तान द्वन्द्वका कारण विश्व ध्रुवीकरणमा गयो भने ठूलो दुर्भाग्य र अनिष्ट हुने संभावना बलियो छ । उक्त युद्धको प्रभाव नेपालमा त झन जबर्जस्त रुपमा पर्ने देखिन्छ । भारतसँग खुला सीमाना रहेकोले पनि नेपालको शान्ति र स्थिरतामा पनि प्रभावित हुनेछ । स्वभाविक रुपमा युद्धले अर्थराजनीतिमा नकारात्मक  असर पार्ने गर्दछ । रुस–युक्रेन युद्धले विश्व नै आर्थिक–राजनीतिक रुपपमा नराम्रोसँग प्रभावित भएको छ । त्यसैले भारत–पाक युद्धको बाछिटाबाट बचाउन सरकारले कुटनीतिक प्रयासहरु अघि बढाउन आवश्यक छ । साथै नेपालले असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिवद्धतामा कमी आउन दिनुुहँुदैन ।  


 

बुधबार, २४ बैशाख २०८२, ११ : १५

प्रतिक्रिया