इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको आयोजनामा बीमा सर्भेयर तालिम सुरू

मंगलबार, ०३ असार २०८२, १२ : १९

काठमाडौं- इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम “बीमा सर्भेयरको तालिम प्रदायक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०८२” अनुसार बीमा सर्भेयर तालिम आयोजना गरेको छ । तालिम असार १ गतेदेखि काठमाडौंको नक्शाल स्थित लिसारा रिसेप्सनमा सुरू भएको हो । 

तालिम कार्यक्रमअन्तर्गत घर, सम्पत्ति, व्यवसाय तथा इन्जिनियरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमा पोर्टफोलियोमा सहभागीहरूले प्रशिक्षण प्राप्त गर्नेछन् ।

कार्यक्रमको उद्घाटन सत्रमा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत डा।लक्ष्मी कान्त पौडेलले सहभागी सम्पूर्ण व्यक्तित्वहरूलाई स्वागत मन्तव्य दिँदै, तालिम नेपाल बीमा क्षेत्रका अनुभवी तथा दक्ष प्रशिक्षकहरूद्वारा सञ्चालन हुने जानकारी दिए ।

त्यस्तै, नेपाल बीमा प्राधिकरणका अध्यक्ष एबम इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका संरक्षक शरद ओझाले सर्भेयर एक जिम्मेवार, मर्यादित र संवेदनशील पेशा भएकाले यसको प्रभावकारी व्यवस्थापनका लागि हालै जारी नयाँ निर्देशिकामा सर्भेयरसम्बन्धी प्रावधानहरू समावेश गरिएको जानकारी गराए ।

उनले सर्भेयरको प्रतिवेदनका आधारमा ठूला बीमा दाबी विवादहरूको समाधान हुने भएकाले पारदर्शी, निष्पक्ष र समयमै प्रतिवेदन पेस गर्नु आवश्यक रहेकोमा जोड दिए । ओझाले तालिमपश्चात नेपाल बीमा प्राधिकरणको निर्देशिकामा व्यवस्था भएअनुसार अनुसार लाइसेन्स प्राप्त गर्न सकिने कुरा पनि स्पष्ट पारे ।

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले सञ्चालन गरेको यस तालिमले सहभागीहरूलाई आवश्यक सीपहरू विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका अध्यक्ष सुशील देव सुबेदीले बीमा सर्भेयर बन्नका लागि निर्देशिकामा व्यवस्था भएअनुसार तालिम अनिवार्य रहेको बताए । उनले सहभागीहरू आ–आफ्नो क्षेत्रमा विज्ञ भइसकेको भए तापनि ती विज्ञतालाई बीमा प्रणालीसँग जोड्न यो तालिम अपरिहार्य रहेको उल्लेख गरे ।

उनले थप जानकारी दिँदै सहभागीहरूले छनौट गरेको पोर्टफोलियोको आधारमा डिजाइन गरिएको पाठ्यक्रमले प्राविधिक तथा कानुनी पक्षमा आधारभूत ज्ञान प्रदान गर्ने र बाँकी ज्ञान इन्टर्नशिप तथा फिल्ड कार्यको क्रममा आर्जन हुँदै जाने स्पष्ट पारे ।

 

मंगलबार, ०३ असार २०८२, १२ : १९

प्रतिक्रिया