आत्मदाह : राज्यको असफलता कि नागरिकको निराशा ?

सोमबार, ११ साउन २०८३, १२ : ०८

काठमाडौं - एक बारको जुनीमा मान्छेले आत्महत्याको बाटो किन रोज्छ ? त्यसमा पनि आत्मदाह जस्तो कष्टकर मृत्यु झनै भयावह रुपमा बढ्नु अर्को चिन्ताको विषय हो । अहिलेसम्म आत्महत्याको एउटै ठोस जवाफ छैन । प्रसिद्ध समाजशास्त्री इमाइल दुर्खिमले आफ्नो ‘आत्महत्या’ (Suicide) नामक पुस्तकमा आत्महत्याको बारेमा विस्तृत व्याख्या गरेका छन् । 
उनले आत्महत्याका कारण यसरी व्याख्या गरेका छन् : 
अहंवादी आत्महत्या : समाजसँग व्यक्तिको सम्बन्ध कमजोर हुँदा हुन्छ। व्यक्ति एक्लोपन, अलगाव र सामाजिक समर्थनको अभाव महसुस गर्छ। जस्ताे  परिवार वा समुदायबाट पूर्ण रूपमा टाढा भएको व्यक्ति।
परोपकारी आत्महत्या : समाजसँग अत्यधिक एकीकरण हुँदा हुन्छ। व्यक्ति आफ्नो जीवनभन्दा समूह वा समाजको हितलाई बढी महत्त्व दिन्छ। जस्ताे  आफ्नो समुदाय वा देशका लागि जानीजानी ज्यान दिने सैनिक।
अनोमिक आत्महत्या : सामाजिक नियम वा मूल्यमा अचानक परिवर्तन हुँदा हुन्छ। आर्थिक संकट, बेरोजगारी, वा ठूलो सामाजिक परिवर्तनका कारण व्यक्तिले दिशाहीनता महसुस गर्छ। जस्ताे  अचानक ठूलो आर्थिक क्षतिपछि निराश भएको व्यक्ति।
भाग्यवादी आत्महत्या : अत्यधिक सामाजिक नियन्त्रणका कारण हुन्छ। व्यक्तिलाई आफ्नो भविष्यप्रति कुनै आशा वा स्वतन्त्रता नभएको अनुभव हुन्छ। जस्ताे अत्यन्त दमनकारी अवस्थाहरूमा बाँच्न बाध्य व्यक्ति।

दुर्खिमका अनुासार, सामाजिक एकीकरण धेरै कम वा धेरै बढी भए आत्महत्याको जोखिम बढ्न सक्छ।
सामाजिक नियन्त्रण अत्यधिक कमजोर वा अत्यधिक कडा भए पनि आत्महत्याको सम्भावना बढ्न सक्छ।
यस सिद्धान्तले आत्महत्यालाई केवल व्यक्तिगत समस्या नभई सामाजिक संरचना र सामाजिक सम्बन्धसँग पनि जोडिएको घटना भनेर व्याख्या गर्छ।
मुगुका गणेश नेपालीले आत्मदाह गरेपछि ८ ९ जनाले यस्तो कष्टकर आत्महत्याको बाटो रोजिसकेका छन् । आजै मात्र धनगढीका ३५ वर्षीय युवकले पनि आत्मदाह गरेका छन् । यसका पछाडि रहेको आर्थिक सामाजिक कारणको खोजि गर्न ढिला भैसकेको छ । दुर्खिमले भने जस्तै परिस्थिति मुलुकमा आइसकेको हो ? आर्थिक संकट, बेरुोजगारी वा ठूलो सामाजिक परिवर्तन हुँदा व्यक्तिको जीवनमा पर्ने प्रतिकुल असरलाई दुर्खिमले एक मुख्य कारण भनेका छन् । मुलुकमा हठात भएको राजनीतिक परिवर्तन र त्यसपछि बनेको सरकारले घोषणा गरेका करहरुले निम्न आय भएका मानिसहरुलाई जीवनप्रति निराशा बढेको कारण पनि यस्ता घटनाहरु भएका हुन सक्छन् । यतिबेला राज्यको नियन्त्रण पनि बढेको छ र व्यक्तिलाई आफ्नो भविष्यप्रति कुनै आशा वा स्वतन्त्रता नभएको अनुभूति पनि हुन थालेको छ । जसको कारण मानिसहरु आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् ।
अभाव, बेरोजगारी र आर्थिक संकटले समाज नराम्ररी गिजोलिने अवस्था सिर्जना भएको छ । सरकारले लोकसेवा बन्द गर्दा लाखौं युवाहरुको भविष्य अनिश्चित बनेको छ । उनीहरु देशमै बसेर संघर्ष गर्ने बातावरण होस् भन्ने चान्थे । तर सरकारको अदूरदर्शी निर्णयका कारण विदेशिन बाध्य हुने अवस्था आएको छ । विदेश जान पनि नसक्नेहरु देशभित्रै निराशाको भुमरीमा बाँच्न विवश छन् । त्यसैले आत्महत्या व्यक्तिको मात्र कारण होइन । यो त राज्यको असफलता र गलत नीतिहरुको कारण जन्मेको सामाजिक कारण हो भन्ने दुर्खिमको परिभाषा भन्दा बाहिर छैन । परिवारको एक सदस्ययले आफू मरेर बाँकी सदस्यलाई बचाउन आत्मदाह गर्नुपर्ने कठिन र भयावह अवस्था आएको हो कि भन्नेतर्फ सरकारले गम्भीरतापूर्वक सोचोस् ।   
 

सोमबार, ११ साउन २०८३, १२ : ०८

प्रतिक्रिया